नदेखेको काला पहाड

केशरमान बुढाथोकी

दियालोको धिपधिपे मधुरो प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र बेगको आँधीले निभाइदिन्छ । मनमाया दाउरा जोरजाम गरेर आगो फूफू गर्दै सल्काउने प्रयास गर्छे । रामलाल पनि बिहान मिर्मिरेमै साहुको काममा गएको फर्कने बेला भइसक्यो तर घर पुगेको छैन । मनमाया चुलो बालेर मात्र के गरोस् ? पकाउनका लागि घरमा कुनै सरजाम छैन । भान्साभन्दा अझै भित्र भण्डारमा जान्छे । उहीँ धुइसोले कालो भएको थैलोमा हेर्छे । थोरै मकैको पिठो छ । लिएर आज पनि त्यही मकैको खोले पकाउन तरखर गर्छे ।

सन्ध्याकालीन सूर्यका मलिन रश्मीहरुले धर्तीबाट बिदा लिँदैछन् । बिस्तारै बिस्तारै कालीरातको पदार्पण हुँदैछ । तर त्यो कालीरात हिजोभन्दा आज झनझन भयानक बनेर आउँदैछ । आजभन्दा भोलि झनै अजङ्गको हुने संकेत छ । हिजोभन्दा आज र आज भन्दा भोलि झनै भयावह हुने संकेत गर्दै कालीरातले भूत, प्रेत, मसान भित्राएर आफ्नो निर्मम र कठोर चरित्र प्रदर्शन गर्दैछ ।

खस्दै गरेको दिनमा छिप्पिदै गरेको झिसमिसे साँझ । त्यही साँझ हो– पारि साहुडेराका सुबेदार बाजे र गैरी जिउलाका मुखिया बाका घरमा आएको । त्यही साँझ हो– गाउँका माडे र हवेलीका घरमा आएको । हो, त्यही अविभाज्य साँझ हो दरवार, मन्त्री निवास र ठूलठूला साहेव साहेवनीको निवासमा आएको पनि । त्यही साँझ त्यहाँ रात्रिभोज चल्दैछ । अबको केहीबेरमा आफन्त साथीभाइ जमघट भएर कक्टेल पार्टी गर्दैछन् । निस्फिक्री स्वागत गर्दैछन् त्यो साँझलाई ।

रामलालको घर सधैं जस्तो आज पनि निकै सुनसान छ । मनमाया सन्ध्यालाई छिचोल्न दाउराको जोरजाम गर्छे । बर्षातमा गोठ चुहिएर भिजेका चिसा दाउरा आगो नबलेर मनमायाको बेहाल छ । फू…फू…फू… गरेर आगो फुक्दा फुक्दा उसलाई रिङ्गटा छुट्ला जस्तो भइसक्यो ।

छोरो काले खोले खाएर साथीसँग खेल्न गएको झुत्रा कपडा झनै च्यातेर भर्खरै आयो । सधैँ खोले र पानी पिएर भोक मेटाउनुको वेदना कालेको चेहरामा प्रष्ट पढ्न सकिन्छ । एउटा नवयौवना ठिटोले केके सुनौला सपनाहरु बुन्दो हो मनमा । सुबेदारको नाति रामेलाई के को फिक्री ? प्रत्येक पेन्सनमा बाजेले एक जोडा कपडा ल्याइदिन्छन् । मुखियाका नातिहरुको कुरै नगरौं । आज ऊ निकै गम्भीर छ । एकटकले खै के के सोचिरहेको छ । त्यस्तै डेड दुई बर्षको फरक होला उसको आफ्नी बैनीसँग । उसकी आमा मनमायाको पेटमा फेरि अर्को शिशु हुर्किरहेको छ । आज पनि आफ्नी आमाले अगेनोमा खोले पकाएको देख्यो उसले । परिवारको जेठो सन्तान हुनुको जिम्मेवारी उसले आज गम्भीररुपमा बोध गरेको छ । उसकी बहिनी च्यात्तिएको कपडाले आफ्नो जिउ ढाकेर पुरानो मैलो प्लास्टिकको बाल्टिनमा पानी लिएर भर्खरै घर आएकी छे ।

श्यामेले एकपटक बहिनीतिर कारुणिक नजर डुलाउँछ । खुम्चेर घुँडामाथि आएको पुरानो सुरुवाल अनि भित्री बस्त्र देखिने गरी च्यातिएको मैलो कुर्ता लगाएकी बहिनी बिचरी नुहाउनका लागि साबुन नपाएर खलीले नुहाउँदा नुहाउँदा कपालै लटा परिसकेको छ । लाललाल परेका पोटिला गाला फुटेर रगत चुहिएला जस्तो । उसको चेहरा पनि निकै मलिन छ । उता झुत्रो वस्त्र लगाएर एउटा अबोध बालक कारुणिक रुवाई रोइरहेको छ । आर्तनादले भरिएको स्वरमा मनमाया छोरीलाई भन्छे, ‘ए नानी । जा ऊ… परबाट बालाई बोला । कतै आउँदैछन् कि ?’ रात सुरु भइसकेकाले किराकाँटीले छत्राकछुत्रुकले त्रसित हुँदै सीता डाँडामा पुगेर बालाई कराउँछे, ‘बाबा ओ बाबा…, बाबा…’ चारैतिर पहाड गुन्जायमान हुँदै आवाज प्रतिध्वनित हुन्छ । कतै निकै टाढा उसको बाबाले आउँदै गरेको जवाफी ध्वनि दिएको आभास हुन्छ । कतै निकै टाढा उसको बाबाले आउँदै गरेको सांकेतिक आवाज उसको कानमा ठोकिन्छन् । यो आवाज बाबाको आवाज भएको ठम्याउँदै ऊ घरभित्र पस्छे ।

रात बिस्तारै बिस्तारै अझ भयावह बन्दैछ । आमा पारि सल्लाघारीतिर कतै बाबा बोल्दैहुनुहुन्छ । ‘ए.. जा, पारि गएर बाबु खेला । किन रोइरहेको छ ?’ सीताले भाइलाई भुलाउन खोज्छे । भोकले रोइरहेको अबोध बालक आहारबिना किन मान्थ्यो ? झनै ठूलो ठूलो स्वरमा रोइरहेको छ ।

श्यामे आज निकै गम्भीर र स्तब्ध छ । आफ्नो परिवार गरिब हुनुको वास्तविक पीडाले उसको अन्तरहृदय निकै नराम्ररी घोंचेको छ । सधैं साथीहरुसँग खेलेर थकित मुद्रामा घर फर्केर आमा र बहिनीलाई हकारेर बोल्ने । भोक लाग्यो, खाना मिठो भएन भनेर त्यसैत्यसै फतफताउने श्यामे आज बिल्कुलै फरक देखिएको छ ।

भर्खरै यौवनको संघार कुल्चिएकी आफ्नी बहिनी च्यातिएका झुत्रा कपडा पहिरेकी छे । जसलाई आफ्ना बाको मजदुरीले एकसरो लुगा फेरिदिन सकेको छैन । उता अबोध बालक (भाइ) भोक सहनै नसकेर चिच्याइरहेको छ । दियालोको मधुरो प्रकाशमा चाउरिएको अनुहार लगाएर मकैको खोले घोट्दैछिन् आमा ।

बाहिर आँगनमा खुत्रुक्क खुत्रुक्कको आवाज आयो । परिवारले अनुमान लगायो, त्यो आवाज त्यो घरको मुली मालिक ती नवयुवक श्यामे, सीता र अबोध बालकको बाबा र मनमायाका श्रीमान हुन् । घरको मालिक साहुको कामबाट रात अबेर खाली हात घर फर्के पनि सकुशल घर पुग्दा परिवारका सबै सदस्यहरुको निन्याउरो अनुहारमा खुशियालीका मलिन रेसाहरु देखिन्छन् । लखतरान परेको शरीर, थाकेको जिउ, भित्र पस्नासाथ थचक्क धुलो भुइँमा बस्छ रामलाल । रोइरहेको सानो छोरोतर्फ हेर्दै भन्छ, ‘किन रोइरहेको छ बाबु ?’ मनमाया आर्तनादले भरिएको स्वरमा भन्छे, ‘भात खाने रे !’

रामलालको हृदय छोरालाई एक मुठी चामलको भातसम्म पनि खुवाउन नसक्नुको पीडाले छियाछिया हुन्छ । अन्तर्मनमा कुण्ठित गरिबीको तलाउ फुटेर खहरे बनी आँखाबाट बाहिर छताछुल्ल हुन्छ । हृदय फुटेको बाढी अबिरल बगिरहन्छ, अबिराम बगिरहन्छ । छाति भक्कानिएर जब्बर पत्थर हुन्छ । ऊ आफैलाई एउटा बाबु भएर नाबालक सन्तानको भोक समेत मेटाउन नसकेकोमा हीनताबोध हुन्छ । आफैलाई एउटा असक्षम र निर्दयी बाबु सन्झन्छ र कल्पना गर्छ, ‘म यस्तो हरिकंगाल जसले एक मुठी चामलको जाउलो सन्तानलाई दिन सक्दैन । उसैलाई किन धेरै सन्तान जन्माउनु पर्ने ?’

दिनभर साहुको कठोर बोलीले छियाछिया भएको मुटु साँझ खरको छानामुनि भएको झुप्रो घरको गरिबीको पीडाले निकै बल्झिन्छ । उसको मनमा खेलेको आर्तनाद मनमाया पनि सहजै अनुमान गर्न सक्छे । अनि निर्दयी अदृश्य ईश्वरलाई सम्झिदै भन्छे, ‘हे ईश्वर ! यो छाप्रोमा वेदनामाथि झनै वेदना थपेर किन रमिता हेरिरहेको तिमी ?’

उता रामलालको मुटुको धड्कन रोकिएला जस्तो भयो । रगत प्रवाहको बेग नै बन्द होला जस्तो । एउटा बज्रप्रहारले हृदयमा हिर्कायो मानौं ब्याधाले हानेको गोलीले मृगको मुटु नै छिडायो । यिनै अतीत र वर्तमानका कठोर दिन सम्झेर रामलाल एकौछिन स्तब्ध भयो ।
उसकी छोरी पनि कहाँ अबोध छे र बाआमाको वास्तविक पीडालाइ उसले पनि महसुस गर्दछे । गला अवरुद्ध पार्दै उसले भन्छे, ‘बा अब म पनि मुखिया बाजेको घरमा काम गर्न जाने है !’ दिनभर काम गरेर म भाइलाई खुवाउने चामल लिएर आउँछु । काम गरेपछि मुखिया बाजेले चामल त दिन्छन् नि बा ?’ यत्तिकैमा परिवारमा झनै सन्नाटा छायो ।

तर ती अबला नारीको अस्तित्वहीन निर्बल हृदय जसमा कुनै आत्मबल छैन । प्रतिशोध छैन । प्रतिकार छैन । छ त केवल अन्तरमनमा कुण्ठित भावना र बाल ऊर्जा । ‘म कसरी परिवारमा रातारात गरिबी हटाएर सुखका दिन ल्याउन सक्छु ?’ रामलालको हृदयमा अविश्वासको तुवालो मडारिन थाल्यो ।

दिनभर गाउँमा साथीहरूसँग खेल्दा आफू गरिब भएर हेपिनुपरेको पीडाले श्यामेलाई बेस्सरी पिरोल्छ । परिवारको जेठो सन्तान भएकाले आफूलाई बाआमाको पिण्डपानीको दाता सम्झेर परिवारको गरिबीलाई छिचोल्न र आफ्नो परिवारलाई सुख दिन आफ्नो काँधमा जिम्मेवारी आएको महसुस गर्दै बाबुको छेउँमै गएर भन्छ, ‘बा म अब अल्लारे पाराले कहिल्यै पनि बरालिन्न । तपाई चिन्ता नगर्नुहोस । अब म पनि ठूलो भइसकें । उसको मनभित्र विभिन्न अनुत्तरित प्रश्नहरु खेलिरहन्छन् ।

रामलाल छोराको कपाल सुम्सुम्याउँदै भन्छ, ‘के गर्छस् त बाबु ? म दिनरात साहुको काम गरेर पनि तिमीहरुलाई पाल्न पनि सकेन ।’

गला अवरुद्ध पार्दै श्यामेले भन्छ, ‘म पनि पैसा कमाउन जान्छु बा अब !’
रामलाल– ‘कहाँ जान्छस् ? अनि कसरी पैसा कमाउँछस त बाबै ?’
श्यामेले मुटु दरो पार्दै भन्छ, ‘कालापहाड ! हो बा… । म अब कालापहाड जान्छु अनि धेरै पैसा कमाएर साहुको ऋण तिर्छु अनि भाइबहिनीलाई लुगा पनि ल्याइदिन्छु ।’

परिवारमा एक प्रकारको सन्नाटा छाउँछ । एकैछिन सबै स्तब्ध हुन्छन् । त्यो एकैछिनको मौनता तोड्दै रामलालले भन्छ, ‘कसरी जान्छस् कालापहाड ?’

यस्तै वेदनापूर्ण त्यो कालो रातमा रामलालको घरमा भान्सा भएन । सबैलाई घरको पारिवारिक गरिवीको पीडाले भावुक बनायो । सुँक्कसुँक्कमै सबैको रात बित्यो ।

हिजो अस्तिको भन्दा फरक त्यो घरको आजको रात सबैको निर्बल हृदय अनि बेसहारा साहसभित्र कहीँकतै उल्लास र उत्सर्ग छैन ।

एकाबिहानै मिर्मिरेमै रामलाल साहुको काममा गयो । सँगसँगै मनमाया पनि घाँस काट्न जंगलतिर लागिन् । लगत्तै उठेको श्यामेले आफ्ना मैला र झुत्रा कपडा पोको पारेर बहिनी र भाइको गालामा म्वाई खायो अनि गहभरि आँसु बनाएर घर छोड्यो ।

ओंठ निचोर्दा दूध निस्केलान् जस्तो । शरीर जता छाम्यो उतै नङ्ग्रा गाडिएलान् जस्तो कोमल अपरिपक्व श्यामे गयो रे, नदेखेको कालापहाड !

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…