लकडाउन डायरी ४ : फेरि अर्को विपत्तिको त्रास

  • केशरमान बुढाथोकी

यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिव दुईसय भन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले विस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ ।

हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित ।

मेटमनी चौधरी  : प्रतिनिधि सभा सदस्य, दाङ क्षेत्र नं १

आजभोलि कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन छ । लकडाउन भएका कारण मेरो पनि अरुको जस्तै दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको संत्रास हुनुभन्दा पहिले एक खालको स्थितिबाट दैनिकी चलिरहेको थियो भने अहिले मेरो पनि दैनिकीमा परिवर्तन आएको छ । म आजभोलि मेरो दाङ क्षेत्र नम्बर १ स्थित मेरै निर्वाचन क्षेत्रमा छु । सधैं जस्तो बिहान ५ बजे नै मेरो निद्रा खुलिहाल्छ । अनि नित्यकर्म गरेपछि चिया पिउछु । त्यसपछी मेरो निर्वाचन क्षेत्रका नागरिकहरु संग विभिन्न माध्यामबाट जोडिन्छु । भेगिय हिसाबले धेरै क्षेत्रफल ओगटेको छ मेरो निर्वाचन क्षेत्रले ।

यहाँ निम्न वर्गीय जनताहरु धेरै बस्ने गरेकाले ज्याला मजदुरी गरिखाने बर्ग धेरै छन । भारतीय सिमा नाका तिर होस या अन्य स्थान तिर जताततै एकदिन काम रोकियो भने एक छाक खान नसक्ने परिवारहरु धेरै भएकाले यहाँ एकातिर कोरोना भाइरसको संक्रमण हुने चिन्ता छ भने । अर्कोतिर भोकमरिले गाँजिएको छ ।

त्यसैले आफ्ना जनताहरुलाई विपतकोबेला राहत उपलब्ध गराउ भन्ने उद्देश्यले मेरो नाममा राहत कोष संकलन गरेर पीडामा छटपटाएका जनताकहाँ दैनिक जसो राहतका सामग्री लगेर जाने गरेको छु । अर्कोतिर म पहिले देखि नै पढाइमा विशेष चासो राख्ने व्यक्ति भएकाले यो समयलाई अध्ययनका लागि पनि भरपुर प्रयोग गरेको छु ।

मैले नपढेका राजनीतिक पुस्तक र इतिहासका पुस्तकहरु बढी अध्ययन गर्ने गरेको छु । फुर्शद भएको बेला यी पुस्तकहरु पढेर नयाँ ज्ञान प्राप्त भएको छ । त्यस्तै यो समयमा परिवारलाई पनि समय दिएको छु ।संधै ब्यस्त जीवन देखेर परिवार नै निरास भएको अवस्थामा परिवारका लागि पनि समय छुट्टिदा परिवार पनि खुसी भएका छन ।

त्यसैले यो समस्याको समयलाई मैले अवसरका रुपमा लिएको छु । दुरदराजका मलाई भोटहालेका जनतासंग पुग्ने र उनिहरुका मर्का बुझ्ने अवसर यो लकडाउनले प्रदान गरेकोछ । अन्त्यमा संघारमै आएको नयाँ बर्ष २०७७ सालको पावन अवसरमा म समग्र नेपाली दिदिबहिनी ,दाजुभाइ तथा आमाबुबालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

तारा पराजुली : उपमेयर, बेलबारी नगरपालिका इटहरी

लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्‍वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरु प्राप्त गरिरहेकी छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नितिगत विषयहरुसंग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु।जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरु नछुटाई पढ्ने गरेको छु।नगरभित्र हरेक दिन जसो आवश्ययकता अनुसार जुनसुकै समयमा पनि सबै ठाँउमा पुग्नुपर्छ पुगेकै छु।समय स्थान परिवेश अनुसार आफ्नो भुमिका निर्वाह गरिरहेकी छु।
हामी यसबेला विचित्रको समय बाँचिरहेका छौँ । यो विचित्रासंगै व्यस्तता पनि भिन्न शैलीमा बढिरहेको छ। उल्टो त्रिभुजाकार शैलीमा बढेको यो व्यस्तता परिस्थितिको माग र चुनौतीसँग लड्ने अस्त्र पनि हो भन्ने मैले बुझेको छु।यसबेला अधिकतम विवेक र धैर्यताले मात्र फलदायी निकास प्राप्त गर्न सक्छ भन्ने आत्मविश्वास सहित काम गरिरहेकी छु।

लकडाउनले सामान्य दिनचर्या पूर्णत: पृथक बनाइदिएको छ । उक्त पृथकताले मानवीय मनोविज्ञानमा समेत हलचल र तरंग ल्याइदिएको छ। हिजो भिड्भाड हुने हतारको राजमार्ग आज फुर्सदिलो र सुनसान सुनसान छ। हिजोका थुप्रै सपना किन्ने र बेच्ने हाटबजारहरु आज केवल सर्वस्व गुमाएको मनुवा झैँ एकोहोरो केही छोडिए जस्तो, केही गुमे गुमाएजस्तो अनि केही पर्खिए जस्तो टहराभित्र गहिरो चिन्तनमा अभ्यस्त छन् ।घ्यार्‍र घ्यार्‍र आवाज उराल्दै मैलो धुवा फाल्दै गुड्ने मल्टिकलर गाडीहरु,मालवाहक,मोटरसाइकल,ट्रक लगायतका आवाज एकाध मात्रै सूनिन्छ यहाँ । यस्तै यस्तै शून्य धून र मौन लयहरु यहाँका दैनिकी बनिसके।लकडाउन पालना गर्दै आफू पनि सुरक्षित रहन हातमा ग्लवस,आँखामा अलि ठूलो आकारको चस्मा,मुखमा माक्र्स र हातमा स्यानिटाइजर प्रयोग गरेर हरेक दिन कार्यलयको काममा निस्कन्छु।

हाइवेमा ओहोरदोहोर गर्दा हरेक दिन हेर्ने गर्छु;बेलबारीको परिचय बोकेको बेतना सिमसार। जहाँ दैनिक हजारौं मान्छेको उपस्थिति र चहलपहल हुन्थ्यो। अहिले एकल शान्त,उज्यालो र चुपचाप शून्यता बाहेक कोही हिंड्दैन यो उल्लासको बगैंचामा।नांच्नैपर्ने भएर होला नाचिरहेका छन् पोखरीभित्र बिस्तारै कछुवाहरु।विनादर्शक विनानिर्णायक जित्नकै लागि माछाहरु कुनै बेनाम खेल खेलिरहेका छन् विथोलेर चुपचापको आयतन।यसबेला म आफैलाई पनि चराहरु अलि भिन्न लयमा चिर्बिराउन थालेको महशुस भएको छ, ओरालै बगेपनि पानीको बगाइ र गति बदलिएको छ।मन्दिर एक्लै मुर्ति एक्लै एकाकी धूनमा मलिन ध्वनि छाडेर घरीघरी घण्ट बजेको आवाज कमै सुनिन्छ अचेल।वास्नामय धूपबाट एकाएक सुवास अलप भएको छ। फूलको वस्ती फिक्का फिक्का रङ पोतिए झैं लाग्छ।

यी सबै फेरिएका विविधताले घेरिएको थिचिएको भान नभएको होइन। त्यतिकै पनि व्यस्त दैनिकी बीसौं गुणा व्यस्तता थपिएको छ।म मात्र होइन यसबेला अधिकांश जनप्रतिनिधिहरु अति व्यस्त हुनुहुन्छ।मलाई लकडाउनमा थोरै समय पनि होम क्वारेन्टाइन बसेको खास अनुभव छैन।लकडाउन सुरु भएपछि मर्निङवाक गएको छुइनं।आधा घन्टा जति घरभित्रै सामान्य एक्सर्साइज गर्छु।साकाहारी भएको कारण बाध्यात्मक परिस्थिति बाहेक अरुबेला पनि सकेसम्म घरकै खाना खान्छु।अहिले चाहिँ बिहान ८ बजे नै खाना खाएर मात्र घरबाट निस्कन्छु।दिनभर काममै व्यस्त हुन्छु। हतारका संस्करणहरुमा फरक सन्दर्भका नवीन पेजहरु थपिएका थपियै छन्।

यो विषम परिस्थितिसंग सामना गर्न धेरै समय कार्यालयका ससाना मिटिङ बैठक सरसल्लाह र कार्यान्वयनमै बित्छ।बाँकी समय नगरवासीहरुको स्वास्थ्यवस्था बुझ्ने,वडाका जनप्रतिनिधि साथीहरुबाट कहिले भेटेर कहिले फोन सम्पर्कबाट नागरिकहरुको जीवन रक्षा सम्बन्धि व्यवस्थापनका विधि खोज्ने, खाद्यान्न समस्या पहिचान र उपलब्धता बारे निरन्तर सम्पर्कमा हुन्छु।सकेसम्म आवश्यकता अनुरुप प्रत्यक्ष उपस्थित हुने गरेको छु। स्वास्थ्यकर्मी साथीहरुसँग निरन्तर बिरामीहरुको जानकारी लिने आवश्यक परे घरघरमा पुग्ने,सुरक्षा अवस्थासंग जोडिएका समस्याहरु हल गर्न सुरक्षाकर्मी साथीहरुसंग दैनिक सम्पर्क र समन्वय गर्ने,ज्याला मजदुरी गरेर जिबिकोपार्जन गरिआउने नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउने,नेपाल बाहिरबाट आउने नागरिकहरुको पहिचान र निगरानीलाई विशेष ध्यान दिने।

अवस्था अनुसार कतै होम क्वारेन्टाइन र सरकारले संचालनमा ल्याएका क्वारेन्टाइनहरुमा पुर्याउने, निगरानी गर्ने कार्य निरन्तरताभित्रै पर्छन्।संकटको बेला बजारहरुलाई उपभोक्ता मैत्री बनाउन अनुगमन नियमनलाई निरन्तरता दिने,कृतिम अभाव र कालोबजारीबाट मुक्त बनाउन खवरदारी र सचेत गराउने,महामारीसंग जुध्न र संकट समाधान गर्न नागरिक समाज,संघसंस्था राजनैतिक दलका प्रतिनिधिहरु लगायत सबैलाई भौतिक,नैतिक, आर्थिक लगायत सबै प्रकारको सहयोगका निम्ति समय समयमा अनुरोध आग्रह गर्छु। जनताका काममै सम्पूर्ण समय बित्छ।घर परिवारसंग दिनमा खास भेट् हुँदैन।बेलुकाको समय खानापछि एकछिन पारिवारिक कुराकानी र ताजा विषयहरु सेयर गरेर बिताउछु।

चैत्र महिना हिउंदे धान लगाउने समय हो।खाद्यान्न अभाव लम्बिने आशङ्काले गाउंतिर मान्छेहरु सामाजिक दुरीलाई ख्याल गरेर भएपनि खेतबाबारीमै व्यस्त छन्।

यो दृश्य हेर्दा हामी लकडाउन भोगिरहेछौं जस्तो नलागेपनि बजार एरिया प्रवेश गरेपछि शून्यताले मेरो मनोविज्ञानना भयानक प्रहार गर्छ,खाली र रित्तो सडकले मन शरीर बेस्सरी पोल्छ,जताततै देखिने बन्द सटरहरुले शिघ्र निकाश सहितको निर्णय कुरीबसेको मौन भाषा सजिलै बुझ्न सकिन्छ।अहिले पनि म आफू भने अधिकतम समय जनताको घरआँगनमै बित्छ।यसो हुँदा फुर्सदमा पढ्ने १७ थान किताबहरु मैले बनाएको सूचिभित्र भएर पनि अध्ययनको समय नमिलेर एउटा किताब पनि पढेर सिध्याउने फुर्सद मिलेको छैन ।

यो बीचमा लेखक नारायण ढकालको `वृषभ बध´१३७ पेजसम्म पढेर थन्क्याएको छु।पुस्तककी `दिलमाया´सर्वत्र तिरस्कृत हुँदासम्म फिराद सुनुवाइ नभएको प्रसङ्ग कौतुहल भित्रै छ।म एउटा लेखक जनप्रतिनिधि भएपछि प्राथमिकताका हिसाबले पहिलो प्राथमिकता जनताको काम नै हो भन्ने मैले बुझेको छु।तसर्थ दिनको १५/१६ घन्टा प्रत्यक्ष

जनतासंगै हुन्छु।बाँकी समय नगरवासीहरुले फोनमार्फत आकस्मिक अफ्ट्यारो सुनाउनुहुन्छ।केही अफ्ट्यारोको समाधान बिहान बेलुका फोन मार्फत पनि गर्छु।

डा. सर्वेश शर्मा : बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल प्रमुख

यतिबेला विश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त भएको छ । विश्वलाई नै आक्रान्त पार्ने गरि आएको यो भाइरसले नेपालमा पनि छोएको छ । यो अवस्थामा सबैको जस्तो मेरो दैनिकिमा केही परिवर्तन आएको छ । म एक स्वास्थ्यकर्मी हुनुको नाताले दैनिक बिरामीको जाँच गर्नु त मेरो दैनिकी नै हो तर कोरोना भाइरसको नेपालमा हुन सक्ने संक्रमण र यसबाट आउन सक्ने भयावह स्थितिको पूर्व तयारी स्वरुप पाँच नम्बर प्रदेश सरकारले दाङमा कोरोना विशेष अस्पताल स्थापना गरि यसको प्रमुखको जिम्मेवारी मलाई दिएपछि झनै व्यस्त भएको छु ।

विश्वको मेडिकल बिज्ञान क्षेत्रको एक चुनौती बनेको यो भाइरसको उपचार तथा रोकथाम कसरी गर्ने भन्ने बिषयमै मेरो चिन्तन रहन्छ । सुत्ने, उठ्ने र खानेको कुनै ठेगान नभएपनी सामान्य बिहान ५ बजे नि म उठ्ने गर्दछु । अनि सामान्य शारीरिक ब्यायाम गरेपछी चिया खाएर कोरोना विशेष अस्पताल जान्छु । त्यहाँ पुगेपछी आइसोलेसन रहेका बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्छु । अनि नवस्थापित अस्पताल भएकाले उपकरण, चिकित्सक जस्ता कुराहरुको अभाव नहुने कुरै भएन ।

त्यसैले त्यसको चाँजोपाँजो मिलाउन तर्फ लाग्छु । अनि नयाँ बिरामीहरु आएपछी तिनीहरु स्वास्थ्य परिक्षण गर्ने । र पुराना बिरामीको नियमित निगरानी गर्ने काम गर्दछु । अस्पतालमा रहेका बिरामीको मात्र नभएर सिंगो कोरोना अस्पताल कै व्यावस्थापन तर्फ लाग्नुपर्ने भएकाले सबैको व्यावस्थापन गर्दा गर्दा समय बितेको पत्तै पाइन्न । अनि साझ घर फर्कने बिषयगत कुराको अध्ययन गर्ने र सुत्ने मेरो दैनिकी हो । अँ अलिकती फरक कुरा पनि गरे है ।

विश्वलाई नै आक्रान्त पार्ने गरि आएको यो कोरोना भाइरसको संक्रमणका कारण ज्यान जोखिममा पारेर काम गैरहेका चिकित्सकहरुको कुनै प्रवाह नगरेर साना तिना अनावश्यक कुरा जोडेर अनलाइन मिडियाले लेखेका कुरा हेर्दा दुखी भएको छु । यो बेला भनेको कस्ले एक बोतल पानी बोकेर ल्यायो भन्ने कुरालाई ठूलो बिषय होइन कि सबैले के कसरी यसैलाई सहयोग गर्न सकिन्छ भन्ने तिर लागे सहज हुने । अन्त्यमा हजुर र हजुरको मिडिया मार्फत नयाँ बर्ष २०७७ सालको पावन अवसरमा समग्र नेपालीलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

दीपक शर्मा : समीर स्वास्थ्यकर्मी / साहित्यकार

विश्वम‌ै यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेविट-१९) ले करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । यतिबेला नेपाल सरकारले देशै भरी काेराेना भाइरस (काेविट-१९) का विरूद्दमा लकडाउनको घोषणा गरेको छ, साे लकडाउनको पुर्ण रूपमा पालना गरी हामीले कोरोना भाइरसलाई परास्त गर्नु बुद्धिमानी हुनेछ ।

भाैतिक दुरी कायम गर्नु, मास्ककाे उचित प्रयोग, साबुन पानी ले मिचिमिचि हात सफा गर्नुका साथै सेनिटाइजर प्रयोग आजको आवश्यकता हो । लकडाउन भएकाले आम नागरिकहरुलाई अा-अाफ्नै स्थानमा धैर्य गरेर बसिदिनुहुन अनुरोध गर्दछु । सर्व् प्रथम अहिले नेपालमा कोरोना भाइरसको संक्रमण छिटफुट मात्र देखिएको हो । यो भन्दा भयावह स्थिति नआउला भन्न सकिन्न । त्यसैले पूर्वतयारी गर्न सम्पूर्ण सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछु ।

काेराेना भाइरस काेविट-१९ विषेशत : १००.४ डिग्री फरेहाइट ज्वराे, सुख्खा रुघाखोकी, अत्यधिक टाउको दुख्नु र स्वासप्रश्वासमा अत्यधिक समस्या देखिनु यसका प्रमुख लक्षणहरू हुन् । समयमै उचित उपचार नभएमा बिस्तारै मानिसको फोक्सोमा काेराेना भाइरस (काेविट -१९) काे सङ्क्रमणबाट श्वासप्रश्वासमा गम्भीर असर परि मानिसको ज्यान समेत जान सक्छ ।

सबैजसो स्वास्थ्यकर्मीहरु जस्तै मेरो पनि दीनचर्या व्यस्ततामै बित्ने गरेकाे छ । स्वास्थ्यकर्मी प्रायः अाजभाेली सधैजसो ब्यस्त नै हुनुहुन्छ । म सधैंजसो बिहान ५ बजे नै उठ्ने गरेको छु । करिव अाधा/ पाैने घन्टा शारीरिक व्यायाम गर्छु । नुहाउछु र बिहानकाे लेवन टि पिएर प्राय: ७ बजे ल्किनिक खोल्नु र सेवा प्रवाह गर्नु नै दैनिकी बनेको छ । यसका लागि नियमित समय व्यवस्थापन गरेको छु । त्यस्तै कतिपय बिरामीहरुले फोनमार्फत पनि विभिन्न कुराहरु सोध्ने गर्दछन् ।

सकेजति फोनबाटै पनि सल्लाह सुझाव दिने गरेको छु । अहिले विश्वमा नै थिलोथिलो पारेको कोरोना भाइरसको बारेमा आएका विभिन्न लेखहरु अध्ययन गर्नुका साथै त्यस सम्बन्धी समाचारहरु पढ्ने, सुन्ने र हेर्ने गरेको छु । नियमित जसो साहित्य लेखन तथा अध्ययन गर्ने गरेकाे छु । फुर्सदको समय साथीभाइहरुसङ्ग विविध विषयमा छलफल गर्ने गरेकाे छु । साँझ करिव ८ वजे क्लिनिकबाट फर्केपछि साँझको समयमा दिउँसोकाे हरेक गतिविधिहरूमा अपडेट हुने, सामाजिक सञ्जाल र साहित्यक किताब अध्ययन गर्छु । नियमित ११ बजेतिर अाराम गर्ने गरेकाे छु ।

अन्त्यमा हजुरको अनलाइन परिवारप्रति मेरा केहि भावना राख्ने अवसर प्रदान गर्नु भयकोमा धन्यबाद व्यक्त गर्दै हामी नेपालीहरूकाे नयाँ वर्ष २०७७ सालको पावन अवसरमा समग्र नेपालीहरूमा काेराेना भाइरस अर्थात काेविट -१९ काे विरूद्दमा लड्ने शक्ति प्राप्त होस भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

दिपेश पोख्रल : युवा बुद्धिजीवी 

कोरोनाको महामारीले विश्वालाई आक्रान्त बनाएको अवस्थामा नेपाल सरकारले नेपालमा लकडाउन घोषणा गरेको छ । सरकारले घोषणा गरेको लकडाउन अवधिमा म परिवार संगै घरमा बसिरहेको छु । लकडाउन भएका कारण बिहान अरु समय भन्दा अलि बढी नै सुतिन्छ । उठेपछि नित्यकर्म सकेर घरमै सामान्य शारीरिक ब्यायाम गर्दछु ।

अनि कोरोनाको विश्व अपडेट हेर्नलाई इन्टरनेटको सहारा लिन्छु । यो समय एकातिर कोरोनाको आक्रमणले विश्वलाई आक्रान्त बनाएको छ भने अर्काेतिर हाम्रो देशमा ज्याला मजदुरले दैनिक काम गर्न नपाएपछि भोक भोकै हुने अवस्था आएको छ । अनलाइन सामाजिक संजाल र समाचारहरुमा त्यस्तो दिनचर्या र मजदुरी गर्ने परिवारको अवस्था सुनेपछी त्यस कुराले अत्यन्तै पीडा दिने गर्दछ ।

हामीले पनि त्यस्ता परिवारहरुलाइ सकेको सहयोग गर्नुपर्छ भन्ने हेतुले मेरो अग्रसरतामा म कार्यरत संस्थाबाट थोरै रकम भएपनी सहयोगका लागि नगरपालिकाको राहतकोषमा जम्मा गर्ने निर्णय गरेका छौं । अन्य समय त घरमै बसेर घरायसी कामकाज गर्ने , छोरी संग खेल्ने , टेलिभिजन हेर्ने । यस्तै यस्तैमा दिनहरु बितेका छन ।

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…