लकडाउन डायरी ५ : भोकमरीको त्रासमा मजदुर , यस्तो छ सिडिओको दैनिकी

केशरमान बुढाथोकी

यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ ।

हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित लकडाउन डायरी यहाँ प्रस्तुत गरिएको छ ।

गोविन्द रिजाल
प्रमुख जिल्ला अधिकारी,  दाङ

यतिबेला कोरोना भाइरसको संक्रमणले विश्वलाई नै थिलोथिलो पारिरहेको छ । विश्वका २०० भन्दा बढी देशमा यसको संक्रमण भएकाले विश्वकै मेडिकल बिज्ञानको क्षेत्रलाई एउटा ठुलो चुतौती बनिरहेको बेला नेपाल पनि यसको संक्रमणबाट अछुत रहन सकेन । सुरुमा एक जना आयातित व्यक्तिमा नेपालमा यसको संक्रमण देखिएपनि हाल करिब दर्जन जति मानिसमा यसको संक्रमण देखिएको छ ।

यसैको संक्रमण नबढोस भन्ने उद्देश्यले नेपाल सरकारले नेपाललाई लकडाउन घोषणा गरेपछि सबैको जस्तै मेरो पनि दैनिकीमा परिवर्तन आएको छ । म सधैं जस्तो बिहान ५ बजेतिर नै उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी क्वाटर परिसरमै सामान्य वाल्किङ गर्दछु । अनि सुरु हुन्छ नियमित काम । नेपालमा लकडाउन घोषणा पछी थुप्रै समस्या उत्पन्न भएका छन् । एकातिर कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरा छ भने अर्कोतिर ज्यालामजदुरी गरि एक छाक टार्ने मजदुरहरुको अगेनो बल्न नसक्ने समस्या छ ।

ज्याला मजदुरी गरेर छाकटार्ने मजदुरहरुको समस्या समाधान गर्दै जिल्लामा लकडाउन कार्यान्वयन गर्दा पक्कै पनि चुनौती त नहुने कुरै भएन । म अहिले पहिलेको सामान्य अवस्था भन्दा झनै व्यस्त छु । पहिले अवास्था सामान्य हुँदा अफिसियल काम मात्र गर्नुपर्ने हुन्थ्यो । त्यतिखेर अफिसियल समस्या भएपनि सामान्य समस्या हुथ्यो । तर यतिबेला जनताको नाना,खाना र छाना देखि स्वास्थ्यको समस्यामा दिन बिताउन परेको छ ।

बिहान उठ्न बित्तिकै बाट विभिन्न खालका मानिसहरुको बिभिन्न समस्याले भरिएका फोनहरु आउन सुरु गर्दछन । दाङ भारतीय सिमा नाका जोडिएको मुलुक भएकाले भारतमा यतिबेला तीव्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ । त्यसैले नेपाल सरकारको निर्देशन अनुसार नेपाल संग जोडिएका भारतीय सिमा नाका सिल गर्ने मुख्य जिम्मेवार छ । तर भारतीय सिमा नजिक सम्म आएका नेपाली हरुलाई सुरक्षित नेपाल छिराएर क्वारेन्टाइनमा राख्नुपर्ने अर्को जिम्मेवारी छ । त्यसतर्फ पनि मैले लगातार काम गरिरहेको हुन्छु ।

अर्कोतिर कोरोनाका लक्षण संग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकलाई कोरोना बिशेष अस्पताल सम्म पुर्याएर उनीहरुको स्वास्थ्य परिक्षण गर्ने । कोरोना बिशेष अस्पतालमा चिकित्सकको व्यावस्थापन गर्ने, मेडिकल उपकरणको व्यावस्थापन गर्ने, बजारमा दैनिक उपभोग्य बस्तुहरुको अभाव तथा आम नागरिकहरुको घरमा यसको ढुवानी गर्ने, आपतकालीन समयमा सवारी साधनहरुलाई पास प्रदान गर्ने लगायतका विभिन्न काममा मेरो समय व्याथित भइरहेको छ । यसका अतिरिक्त मैले कोरोना सम्बन्धिका समाचारहरु पढ्ने अन्य पुस्तक पढ्ने र समय मिलाएर साहित्य सृजना गर्ने तर्फ मेरो दैनिकी बितिरहेको छ । समग्रमा पहिलेको सामान्य अवस्था भन्दा झनै ब्यस्ततामा समय बितिरहेको छ ।

सविन प्रियासन
अध्यक्ष नेपाल पत्रकार महासंघ,  दाङ शाखा

यतिबेला सिंगो विश्व कोरोनाको संक्रमणले जकडिएको छ । नेपालमा अहिलेसम्म यसले बिकराल अवस्था सिर्जना नगरेको भएपनि यसको सन्त्रास कायम छ । यही अवस्थाका बीचमा मेरो पनि दैनिकी अगाडी बढेको छ । राती अबेरसम्म जिल्ला, देश अनि विश्वभर भएका गतिविधिहरुको बारेमा जानकारी लिँदालिदै बित्ने भएकाले विहान ६ बजेतिर उठ्छु ।

उठ्नासाथ कोरोना सम्बन्धी अपडेट हुन्छु । त्यसपछि विहानको नृत्यकर्म सकेपछि खाजा खाने काम हुन्छ । नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष, प्रेस संगठन नेपाल प्रदेश संयोजकको जिम्मेवारी बोकेकाले प्रदेश अनि जिल्लामा अहिलेको विसम परिस्थितिमा सञ्चार क्षेत्रलाई कसरी अगाडी बढाउनुपर्छ भन्ने विषयमा आफूलाई केन्द्रीत गर्छु ।

साथीहरुलाई परेका समस्या अनि अफ्ठ्याराका विषयमा पनि आफूले खेल्नुपर्ने भूमिका विहानदेखि साँझ नसुतेसम्म खेलि रहन्छु । जनतालाई सूसूचित बनाउनुपर्ने दायित्व सञ्चार क्षेत्रको हो । तर अहिलेको अवस्थामा सञ्चारकर्मीहरुलाई पनि सुरक्षित रहनु पर्ने भएकाले सञ्चारकर्मीहरुका लागि चाहिने माक्स, सेनिटाइजर, पञ्जालगायतका सामाग्रीहरु वितरण गर्ने सवालमा पनि मेरा समयहरु आजकाल विति रहेका छन् । यसका साथै सञ्चारकर्मी, सञ्चारक्षेत्रमा कार्यरत मज्दुरहरुलाई परेका खाद्यान्नलगायतका समस्याहरुलाई सम्बोधन गर्ने सवालमा कामहरु गरिरहेको छु ।

साथै गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक सम्पादकको जिम्मेवारी रहेकाले पत्रिकालाई प्रकाशन गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकालाई अगाडी बढाउँने सवालमा पनि दिनहरु वितिरहेका छन् । सबै ठाउँ लकडाउन भएकाले पहिलेको तुलनामा घरपरिवारलाई अलि बढ्ता समय दिने गरेको छु । यसरी नै आजकालका दिनहरु वितिरहेका छन् ।

शशी शर्मा मजगैयाँ
अध्यक्ष, आवाज इन्टरनेसनल

आजभोलि विश्वलाई कोरोना भाइरसको आक्रमणले थिलो-थिलो पारिरहेको छ । जसका कारण मेरो पनि दैनिकीमा परिवर्तन आएको छ । म आजकाल बिहान ५ देखि ६ बजेको बिचमा उठ्छु । बिहान कम्तीमा १ घण्टा नियमित शारीरिक ब्यायाम गर्छु । त्यसपछि चिया खाजा सकेर २- ३ घण्टा अध्ययन गर्छु ।

कानुनको विद्यार्थी भएकोले कानुन सम्बन्धि पुस्तकहरु ,बिभिन्न ऐन कानुनहरु अध्ययन गर्छु । त्यसपछी १० बजेतिर नियमित दाल भात तरकारी त छदैछ । मेरो सानो ३ वर्षको छोरी छिन ,त्यसपछि म उनिसङ्ग खेल्छु । श्रीमतीलाई काममा सघाउछु । दिउँसो प्राय म फिल्म हेरेर समय बिताइरहेको छु । दिउसोको खाजा खाएपछि म गीत सङ्गीत सुन्छु । नियमित गीत सुन्छु म ।

आफै पनि सर्जक भएकोले होला सायद सबैभन्दा प्रिय मलाई सङ्गीत लाग्छ । धेरै सिर्जना त यो बिचमा हुन पाएका छैनन् । तर केही गजल र गीतहरु त लेखेको छु । लेखिसकेपछी ग्रुप च्याटमा साथीहरूलाई पनि सुनाएको छु । बेलुका म नियमित टेलिभिजनमा समाचार हेर्छु । बिबिसी सुन्छु । सामाजिक संजालमा त प्राय आँखा दौडेकै हुन्छ । समय प्रसस्तै भएपछि के गरौं के गरौं त हुदोरहेछ तर अब त बानी परिसक्यो ,सेड्युल नै भैसक्यो । मलाई यो बिचमा एउटा नयाँ लत बस्यो । लुडो खेल्ने ।

म कहिल्यै मोबाइलमा गेम इन्स्टल नगर्ने मान्छे ,अनलाइन लुडो खेल्न मिल्दो रहेछ । यहि बीचमा जानेको । यो खेल बाहिर बाहिर बस्ने साथिहरुसङ्ग गफ गर्दै खेल्न मिल्ने भएकाले यो खेल पनि खेल्ने गरेको छु । अफिसको काम पनि घरमै बसेर गर्नुपर्ने भएकाले दिउँसोको केही समय आफ्नो नियमित अफिसियल काममा लगाउने गरेको छु ।

अनलाइन मिटिङहरु गर्छु । समयले फिजिकल भन्दा भर्चुअल हुन सिकाएको छ । समय मिलाएर आफन्त तथा साथीहरूसङ्ग फोन तथा भिडियोमा कुराकानी गर्छु । आफ्नो जानकारी दिन्छु र त्यहाँको स्थितिका बिषयमा जानकारी लिन्छु ,सावधानी र सजकता अपनाउनका लागि कुरा गर्छु ।

समग्रमा परिवारलाई प्रसस्तै समय मिलेको छ । घरदेखी बाहिर कहिँ निस्केको छैन,सरकारलाई पुर्ण सहयोग गरेको छु । अन्त्यमा कोभिड(१९ को महामारी सङ्ग लड्न सक्ने क्षमताको विकास होस् । विश्वले यो महामारीबाट छिटोभन्दा छिटो मुक्ति पाओस् भन्ने कामना सहित नव वर्ष(२०७७ को सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।

आयान बज्राचार्य
अन्तराष्ट्रिय खेलाडी

कोरोना भाइरसको सन्त्रास पछी नेपालले पूर्व साबधानी अपनाउने भन्दै गरेको लकडाउनले मेरो पूर्ववत समय तालिकामा परिवर्तन भएको छ । म आजभोली समय बिताउन सजिलो होस भनेर दाङ तुलसीपुर स्थित बैनीको घरमा आएको छु । यहाँ पनि बिहान संधै झैँ ५ बजे नै उठ्छु । नित्यकर्म गरेर चिया पिउछु । अनि करिब ३ घण्टा जति घरमै शारीरिक व्यायाम गर्दछु । शारीरिक व्यायाम पछी खाना खाएर भान्जा भान्जी संग बिभिन्न खेलहरु खेल्ने । टिभी हेर्ने । अनलाइन समाचारहरु पढ्ने गर्दछु ।

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको वर्तमान अवस्थामा यसको प्रभाव भएको क्षेत्रका विभिन्न मीडियाहरुमा आएका समाचारहरु पढ्दा मन चिसो हुन्छ ।

विश्वको मेडिकल बिज्ञानलाई नै चुनौती दिने गरि हाल सम्म यसको उपचारको कुनै भ्याक्सिन सम्म पत्ता लाग्न नसकेको अवस्थामा यसको संक्रमण बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्दछु र भान्जाभान्जी र मेरा आफन्तजन हरुलाई यसको सूचना दिने काम गर्दछु । यति लामो समय लकडाउन भएपछी साथीहरु संग पनि भेटघाट हुन सकेको छैन । त्यसैले सामाजिक संजालको माध्ययमबाट साथीहरु संग सम्पर्क गर्ने काम गरेको छु । यसरी नै मेरो दिनचर्या बितिरहेका छन् ।

मिना बिक
मजदुर

खै देशमा कोरोना भन्ने कुन रोग आउदैछ रे । त्यसैका कारण जताततै बन्द छ । कतै काम चलेको छैन । हामी त दिनभर काम गरेर साझ बिहान छाक टार्ने मजदुरहरु हौँ । यदि कुनै कारणले १/२ दिन मात्र काम रोकियो भने के खाउ के खाउ भन्ने समस्या हुन्छ हामीलाई ।

यत्रो २० – २२ दिन काम नगरेर बस्दा निकै समस्या उत्पन्न भएको छ । यहि ज्याला मजदुरी गरेर मात्र हामी ६ जनाको परिवार धकेलिएको थियो । तर अहिले कहिँ कतै काम छैन । हामी दुखारिको उठ्ने समय पनि के सोध्नुहुन्छ । कहिलेकाही त रातभर निद्रै लाग्दैन सधैं जस्तो बिहान ४ बजे नै निद्रा खुल्छ । काम हुँदा मजदुर गर्न जाने हतारो हुने गर्थ्यो ।

दुख भएपनि भोका भोकै बस्ने पीडा त हुदैनथ्यो । तर आजकाल त झनै उल्टो भोकले मरिन्छ कि भन्ने पीडा भएको छ । खाना सकिएको कति दिन भैसक्यो । यहि खोले बनाएर खाने हो । कहाँ कहाँ त राहत पनि पाइन्छ रे । त्यो पनि टाँठाबाठाका लागि त होला । काम पनि छैन । दिनभर बस्ने साझ बिहान के खाने भन्ने चिन्ताले सताउछ । अनि साझ त्यस्तै सुत्ने यसरी नै बितेको छ दिन । बरु यो बन्द कैले खुल्छ ?

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…