घोराही। प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषदको आंगिक शिक्षालयको रुपमा रहेको दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा भिडिओ कन्फ्रेन्सबाट अनलाइन कक्षा संचालन सुरु गरिएको छ ।
बुधबारबाट स्काइप भिडियो कन्फ्रेन्स एप मार्फत शिक्षालयले अनलाइन कक्षा संचालनमा ल्याएको हो।

विश्वमा कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाइरहेको बेला नेपालमा लकडाउन घोषणा गरिएकाले शिक्षालय पनि बन्द रहेकाले बिद्यार्थीलाई शिक्षा दिने उद्देश्यले अनलाइन कक्षा संचालन गरिएको शिक्षालय प्रमुख यादव सुवेदीले जानकारी दिए ।
पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएका मानिसहरु दिनानुदिन बढिरहेको र नेपाल सरकारले निरन्तर लकडाउन घोषणा गरिरहेकाले पठनपाठनलाई निरन्तरता दिन भिडिओ कन्फ्रेन्सबाट शिक्षा प्रदान गर्न थालिएको शिक्षालय प्रमुख सुवेदीको भनाइ थियो ।

पहिलो चरणमा डिप्लोमा इन फार्मेसीको कक्षा भिडिओ कन्फ्रेन्सबाट सुरु गरिएको र यसको प्रभावकारिता हेरेर लामो समय लकडाउन हुने स्थिति आए अन्य कार्यक्रमको पनि भिडिओ कन्फ्रेन्सबाट कक्षा सन्चाल गर्ने शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीले जानकारी दिए ।
हाल लकडाउनको समयमा मात्र संचालन गर्ने भनिएपनि कक्षाको प्रभावकारिता हेरेर अनलाइन कक्षालाई संधैका लागि पनि निरन्तरता दिन सकिने शिक्षालयका लेखापाल नारायण भण्डारीको भनाइ थियो ।
लामो समय लकडाउन हुँदा आफ्नो पढाइ अन्यौल भएको बताउदै अनलाइनबाट कक्षा संचालन हुन लागेकोमा आफुहरु खुसी भएको बिद्यार्थीहरु पुण्य घिमिरे हिरा थापा लगायतले बताएका थिए
शिक्षालयका प्रमुख यादव सुवेदीको अध्यक्षतामा भएको कक्षा संचालन कार्यक्रमको सहजीकरण शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीले गरेका थिए ।