सबै सामान ट्याक्सीमा हालेर मैले उनलाई बिदाईको हात हल्लाएँ। करिब ४ वर्ष उनको घरको बसाई निकै रमाइलो थियो। त्यसो त काठमाडौंको पाँच वर्षे बसाईमा मैले चार वटा कोठा चेञ्ज गरिसकेको थिएँ। कतै पानीको अभाव। कतै अफिस र कलेजको दूरी टाढा त कतै घरबेटीको रुखो व्यवहार। काठमाडौं छिरेको पहिलो एक वर्ष मेरो समय कोठा खोज्नमै बित्यो। पहिलो वर्षै मैले तीन वटा कोठा चेञ्ज गरिसकेको थिएँ। पछिल्लो पटकको कीर्तिपुरको बसाई निकै रमाइलो भयो।
घरबेटीसँग पारिवारिक वातावरण जस्तै भयो। सबैभन्दा बढी आनन्द त निलमको माया र निकटताले बढाएको थियो।
म गाउँबाट भर्खर शहर छिरेको ठिटो। शहरिया वातावरणमा घुलमिल हुन निकै गाह्रो। हाम्रो बोली सुन्नेबित्तिकै धेरैले दाङको भनेर चिनिहाल्थे। मेरो र निलमको पृष्ठभूमि निकै भिन्न थियो।
उनी शहरमै जन्मेकी, हुर्केकी। उनका बुवा इञ्जिनियर, आमा सरकारी अस्पतालकी नर्स। दाइ अमेरिका, दिदी अष्ट्रेलिया। मेरो घर गाउँमा। पिता पण्डित। आमा गृहिणी। दाइ निजी विद्यालयको मास्टर, दिदी गृहिणी। यी भिन्नताबीच पनि हामीबीच सामिप्यता रहिरह्यो।
काठमाडौं छिर्नुभन्दा पहिले र एक वर्षसम्मको काठमाडौं बसाईले मलाई घरबेटी र त्यहाँका रैथानेहरुप्रतिको धारणा फरक थियो। तर, कीर्तिपुर छिरेपछि मेरा सबै धारणाहरु परिवर्तन भए। साथीहरु कीर्तिपुरका नेवारहरु छुच्चा हुन्छन् भन्ने। तर, मलाई त्यस्तो अनुभूति कहिल्यै भएन। म बाहुनको छोरालाई नेवारको संस्कृतिसँग घुलित हुन सहज त थिएन। तर, कैयौं मेरा स्वभावहरुलाई कम्प्रोमाइज गर्दै म अन्तरघुलित भएको थिएँ।
निलम काठमाडौंको एक निजी कलेजमा कक्षा १२ मा पढ्थिन्। म आरआर कलेजमा पत्रकारिता। दुबैको कलेज बिहान थियो। दिनभर घरमा प्रायः निलम र म मात्रै हुन्थ्यौं। बुवा आमा अफिस। निलम सधैंजसो टिभी र मोबाइलमा झुम्मिन्थिन्। आइतबार बिहान करिब ११ बजे मेरो कोठामा ढकढक आवाज आयो। भर्खर कलेजबाट आएर कपडा चेञ्ज गर्दै थिएँ। हतपत ह्याङ्गरमा राखिएको टाबेल बेरेर ढोका खोल्न गएँ।
एक्कासी मेरो अगाडि निलम देख्दा निकै हडबडाएको जस्तो भयो। हिजो बेलुकी खाएका भाँडाहरु जुठै। कपडाहरु छरपष्टै। अझ धुलैधुलोले भरिएको कार्पेट। ढोका लगाउँ कि खोलिरहुँ भन्ने दोधारमै भएँ। ‘खाना खानु भयो दाइ?’ निलमको प्रश्न खस्न नपाउँदै ‘हजुर खाइसकें।’ भन्ने जवाफ फर्काए। ‘हैन आज कलेज जानुभएको हैन र?’ उनको प्रश्नले बल्ल मलाई झसङ्ग बनायो।
किनकि म कलेजबाट फर्केको करिब १० मिनेटमात्रै भएको थियो। १० मिनेटमा पकाएर खानु सम्भव थिएन। तत्काल आफ्नो झुटलाई बचाउ गर्दै ‘आज बजारमै खाएको।’ उनी मुसुक्क हाँसिन्। त्यति सुन्दर अनुहार आफ्नै अगाडि प्रस्तुत हुँदा मलाई निकै आनन्दित बनायो।
उनी हाँस्दा देखिएको डिम्पल। प्लेटले ढाकेको कचौरा दिदै उनको मुखबाट स्वर निस्कियो, ‘आज ड्याडीले लोकल कुखुराको मासु बनाउनुभएको रहेछ, बिहान तरकारी बनाउन अल्छी लागेको होला भनेर ल्याइदिएको।’ ‘अहँ पर्दैन मैले खाना खाइसकें।’ मेरो जवाफ फर्कन नपाउँदै उनले थपिहालिन्, ‘अप्ठ्यारो मान्नुपर्दैन।’ म कचौरा समाएर कोठाभित्र पसें। उनी आफू बस्ने माथिल्लो तलामा दौडिइन्। कोठामा आएको करिब दुई महिनासम्म हाम्रो बोलचाल नै भएको थिएन।
तर, म झ्यालबाट उनी करेसाबारीमा गएको, कलेजबाट गएको नियमित जसो ख्याल गरिरहन्थें। कैयौं पटक घरबाट गाडी लाग्ने ठाउँसम्म जाँदा हामी सँगसँगै हुन्थ्यौं तर, बोलचाल भने पटक्कै भएको थिएन। पहिलो पटक कुरा गर्दा नै उनीबाट म निकै प्रभावित भएँ। उनको बोल्ने तरिका निकै सरल लाग्यो। त्यसपछि मलाई उनीसँग अर्को पटक कुरा गर्ने मौका जुरिहाल्यो।
किनकि उनले मासु ल्याइदिएको कचौरा फिर्ता गर्नुपर्ने थियो। त्यो दिन कचौरा फिर्ता गरिनँ। अर्को दिन कलेजबाट फर्किसकेर कचौरा फिर्ता गर्ने नाममा म उनी बस्ने माथिल्लो फ्ल्याटमा पुगें। उनी किचेनमा रहिछिन्। मलाई देख्ने बित्तिकै उनले भनिन्, ‘ओहो दाइ!’ उनको बोलीले म निकै अलमल परें। के भनुँ के भनुँ जस्तो भयो। मसिनो स्वरमा ‘कचौरा !’ मात्रै भनें।
उनले भनिन्, ‘म पनि भर्खर खाना खान किचेनमा छिरेको, तपाई पनि आज यतै खानु न त दाई कति खाना पकाउने दुःख गर्नुहुन्छ।’ सम्बोधनमा उनले ‘दाई’ भने पनि हामी भावनात्मक रुपमा एउटा साथी भएका थियौं। कता कता हामीबीच प्रेमभाव प्रकट भइसकेको थियो।
त्यसपछिका कैयौं बिहान मेरो कोठामा खाना पाकेन। उनका लागि भनेर पकाएको खाना दुबै जनाले बाँडेर खान थाल्यौं। बिस्तारै म पत्रकार भन्ने थाहा पाएपछि उनका घरबेटी बाआमासँग पनि राम्रै सम्पर्क भयो। हामी प्रेमको संसारमा डुबेको पत्तै भएन। उनका बाआमाले पनि कहिल्यै शंका गरेनन्। विभिन्न समयमा हुने युवा सशक्तिकरण तालिममा उनी पनि सहभागी हुन्थिन्।
हामी छुट्टै संसारमा पुगेका थियौं। म आफ्ना केही पारिवारिक काम गर्नुपर्ने भएकाले दाङ फर्किनुपर्ने भयो। दाङ फर्किने भन्ने निर्णय सुनेर उनी धेरै पटक रोइन्। ‘तपाई अब टाढा भइहाल्नुहुन्छ, म कसरी तपाई बिना एक्लै बस्ने?’ उनले भनिन्। मलाई पनि दाङ फर्किने मन त थिएन। परिस्थितिले फर्कायो। दाङ फर्केपछि पनि हाम्रो प्रेममा कुनै कमी आएन। म पटक पटक विभिन्न बहानामा काठमाडौं गइरहन्थें। हामीबीच बिहे र नयाँ संसारको कुरा भइसकेको थियो।
तर, यता घरमा मेरो बिहेको कुरा उठ्यो। बुवा पुरोहित भएकाले पनि अन्तरजातीय बिहे परिवारलाई स्वीकार्य हुने कुरै भएन। तर पनि म बिद्रोह गरेर भए पनि निलमलाई नै आफ्नो बनाउन चाहन्थें। घरपरिवारकै दबावमा धेरै ठाउँ बिहेका लागि कुरा पनि चल्यो। सबै ठाउँ मेरो जवाफ हुन्थ्यो, ‘मलाई केटी मन परेन।’ किनकि म निलमबिना अरुसँग जीवन कटाउन सक्दैन भन्ने निष्कर्षमा पुगेको थिएँ। २०७२ बैशाख ११ गते परिवारकै दबाबमा केटी हेर्न भनेर म नारायणपुर पुगें।
केटी राम्री र संस्कार भए पनि परिवारलाई ‘मलाई मन परेन भन्ने जवाफ फर्काएँ।’ पर्सिपल्ट केटी पक्षलाई जवाफ फर्काउनुपर्ने थियो। तर, वैशाख १२ गते दिउँसो भूकम्प आयो। जताततै कोलाहल मच्चियो।
भूकम्पले जमिन हल्लाएको भन्दा मेरो मनमा कैयौं गुणा ठूलो भूकम्प गयो। सबैभन्दा पहिले निलमलाई फोन गरें। ‘माफ गर्नुहोला तपाईले सम्पर्क गर्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।’ सयौं पटक फोन ट्राइ गरें। अहँ पटक्कै फोन लागेन।
नेटवर्कमा समस्या आएकाले फोन नआएको होला भन्ने सोचें। दिउँसोबाट फोन गर्न थालेको अर्को दिन बिहानसम्म निरन्तर फोन गरिरहेँ। अर्को दिन नेपाल टेलिभिजनको समाचारमा मृतकहरुको नाम बज्न थाल्यो। मुटुको ढुकुढुकी बढिरह्यो। एक्कासी मृतकको लिष्टमा निलम, उनको बुवा र आमाको नाम पनि आयो। म रन्थनिएँ। चिच्याएँ। छाती बजारें।
त्यसपछि के भयो थाहा नै भएन। ब्यूँझिदा गोर्खा हस्पिटल घोराहीको बेड नं. ४ मा रहेछु। निलमसँग बिताएका ती पलहरु। कोरिएका नयाँ सपनाहरु सबै चकनाचुर भइसकेका थिए। म आज पनि झसङ्ग हुँदैछु किनकि बैशाख १२ आउन अब १५ दिन मात्र बाँकी छ।