बेमौसमी खहरेहरुले
सिनित्तै बगाउन नसक्ने
औसत मान्छेहरु भन्दा
केही थान बढी दुखहरु छन् मेरा !
दिनहुँ बल्झिरने
र, सूल परेझैं
सिल्का हानिरहने काँचो मुटुमा
औसत मान्छेहरु भन्दा
अलि जहरिला घाउहरु छन् मेरा !
—————————————-
नदीझैं बेगवान मेरो यात्रा विथोल्न
र, लक्षच्यूत गर्न मलाई !
मोड/मोडमा
थापेर अड्चनका बारुदी एम्बुसहरु
ढुकेका छ्न् उनीहरु वर्षौंदेखि !
औसत मान्छेहरु भन्दा
केही थान बढ्ता छन् शत्रुहरु मेरा !
—————————————
ताडना अनेक अनेक सहेको छु
भीडभित्र पनि एक्लो भएको छु !
कतिबार यो जिन्दगीमा
औसत मान्छेहरु भन्दा
मुस्कुराउँदै/मुस्कुराउँदै
आफ्नै रहरहरुको मलाम गएको छु !
————————–
पहिरो खस्दा जिन्दगीमा
आफ्नै छाती कुल्ची हिंडेको छु !
ओभानो साटेर फूलका बासनाहरुसंग
औसत मान्छेहरु भन्दा
धेरै चोटिला झरीहरु रुझेको छु !
—————————–
र, औसत मान्छेहरु भन्दा
चम्किला छन् मेरा सपनाहरु !!
-केएल पिडित