आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो : निर्मल आचार्य

निर्मल आचार्य ‘विमल’
केन्द्रीय सदस्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको बताउनुहुन्छ । पार्टीभित्रका समस्याहरुलाई महाविधेशनमार्फत् हल गरिने उहाँको भनाइ छ । पार्टीभित्रको विवाद, कार्यदिशा, कार्यक्रमलगायका विषयमा केन्द्रित रहेर पत्रकार  पाण्डव शर्माले आचार्यसँग गरेको कुराकानी ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अहिले मिलेको जस्तो देखिन्छ । खास के कुरामा मिल्यो पार्टीभित्रको विवाद ?

के कुरामा मिल्यो भन्दा पनि के कुरामा विवाद भयो भन्ने प्रधान कुरा हो । खासगरी एउटा मर्मका साथ पार्टी एकता भएको छ । पार्टी एकता पछाडि कुन स्वरुपमा अघि बढ्ने भन्ने कुरामा केही असमझदारी देखिएको थियो ।

दुईओटा अध्यक्ष बीच समान ढंगको कार्यविभाजन र समान ढंगको गतिविधि अगाडि बढ्नुपर्ने थियो । तर, हाम्रो पार्टीभित्र केही त्रुटिहरु देखा परे । पार्टीभित्र समस्या उत्पन्न भयो । अर्को कुरा जनताको अपेक्षा र अहिलेको सरकारको कामको बीच केही अन्तरबिरोध देखिन आइपुग्दा यसलाई कसरी समाधान गर्ने हो भन्ने विषयमा आ–आफ्ना राय राख्दाखेरी पार्टीभित्र अर्को असमझदारी भएको थियो । त्यसैगरी पार्टी एकताको काम ठीक ढंगले समाधान गर्न नसक्दा समस्याहरु पैदा हुँदा समस्या देखिएको थियो ।

कुल मिलाएर एकताको अनुसार काम गर्नुपर्ने थियो । दुई ओटा अध्यक्षले आ–आफ्ना बिचारहरु थाँती राखेर नयाँ अन्तरिम पार्टीको कार्यदिशा बनाएर अघि बढ्नुभएको थियो । दुई ओटा अध्यक्षले समान ढंगले पार्टीलाई हाँक्ने भन्ने सहमति भएर पार्टी एकता भएको थियो । त्यसमा कही न कही समस्या पैदा भयो ।

त्यसैगरी दुई अध्यक्षहरु बीच सहमति र सहकार्य गर्दै विश्वासको वातावारण तयार गरेर सिंगो पार्टीलाई एक ढिक्का बनाउनुपर्ने थियो । त्यो हुन नसक्दा समस्या उत्पन्न भयो । त्यसपछि दुई ओटै अध्यक्ष एक ठाउँमा आएर पार्टीको समस्या कसरी समाधान गर्ने भनेर कार्यदल बनाउनुभयो । त्यो कार्यदलले पनि छलफलपछि एउटा सुझाव दिएको छ । कार्यदलको प्रतिवेदनले दुई ओटा अध्यक्षहरुबीच छलफल गर्दै सकरात्मक दिशातर्फ अगाडि बढ्ने आधार तयार पारेको छ । अब समस्याहरु साँघुरिदै जाने र हल हुने दिशातर्फ केन्द्रित भएको छ ।

प्रचण्ड–माधव समूहले केपी ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने माग गर्दै आएको थियो । कार्यदलको प्रतिवेदन हेर्दा अध्यक्ष ओलीलाई अँझ बढी शक्तिशाली बनाएको देखिन्छ । कार्यदललको प्रतिवदेन त उपाध्यक्ष वामदेव गौतमले पेस गर्नुभएको ६ बुँदेकै पेरिफेरीमा देखियो होइन ?

परिस्थिति जटिल बन्दै जाँदा दुर्घटनामा जाने कि समाधानमा जाने भन्ने कुरा मुख्य हुन्छ । कसैलाई सुरुसुरुमा आवेग र भावनाबाट हेर्दा दुर्घटना पनि प्यारो लाग्न सक्छ । तर, दुर्घटनाले देश, समाज र समग्र कम्युनिष्ट आन्दोलनका लागि अप्रिय हुन जान्छ । दुर्घटनामा जाने कि समाधानमा जाने भन्ने कुरा रोज्नुपर्दा अहिले समाधानको बाटो खोजेको हो ।

हामी महाधिवेशनमार्फत् बिचार, संगठन, राजनीति र सरकार सञ्चालनको विषय पूर्तीकरण गर्दै जाने र पार्टीलाई विधि र पद्धतिबाट अगाडि बढाउने गरी कार्यदलले प्रतिवेदन पेस गरेको छ । अहिलेको सहमति कुनै अमुक नेताले चाहेर भएको वा प्रस्तावमा भएको होइन ।

अहिले कुनै पनि नेपाली जनताले कम्युनिष्ट पार्टी फुटोस् भन्ने चाहेका थिएनन् । नेकपा फुटमा जाँदा असाध्यै धेरै प्रतिउत्पादक हुन्थ्यो । आम जनता र कर्याकर्ताको चाहना अनुसार यो प्रतिवेदन आएको छ । प्रतिवेदनलाई संश्लेषित गर्दै ठीक समयमा महाधिवेशन गरेर ठीक ढंगले आगामी यात्रा तय गर्ने मार्गनिर्देशन दिएको छ । यसले समस्या अब समस्या भन्दा समाधानलाई बढी जोड दिएर आम नेपाली जनतालाई नयाँ उत्साह दिने मैले देखेको छु ।

सामान्य रुपमा हेर्दा नेताहरुको व्यक्तिगत व्यवस्थापनमा विवाद भएको देखिन्छ । तर, सारमा यो विचारकै बहस हो । बिचारको बहस भनेको पार्टी पद्धति अनुसार पार्टी चल्ने कि नचल्ने, पार्टीमा निर्णय गरेर अन्यत्र निर्णय गर्ने कि स्वतस्फूर्त निर्णय गरेर अघि बढ्ने, लेनिनवादी संगठनात्मक सिद्धान्त लागु गर्ने कि नगर्ने भन्ने विषय नै अहिलको प्रधान हो । हामीले समाजवाद उन्मुख संविधान जारी गरेका छौं ।

समाजवाद उन्मुख कार्यक्रम बनाउने कि नबनाउने, संघीयतालाई ठोस् रुपमा जनताको जीवन व्यवहारमा परिवर्तन गर्ने गरी लागु गर्ने कि नगर्नेलगायतका अन्यमा विषयहरुको छलफल भएको छ । त्यसको अभिव्यक्ति विधिमा पद्धतिमा आइपुगेको छ । बाहिर प्रकट हुँदा तिमीले सकेनौं म गर्छु अथवा हुन्छु भन्ने कुरा आएको होला । अन्तर संघर्षको क्लाइमेक्समा आइपुग्दा यस्ता कुरा आउँछन् ।

यसरी बाहिर कुराहरु आउँदा पदको लडाई जस्तो देखिन आउँछ । तर, सारमा यो पदको नभएर बिचार र पार्टी निर्माणको लडाई हो । यसले पार्टी निर्माणलाई निकै सहयोग गर्नेछ । यदि पदकै लागि लडाई हुन्थ्यो भने प्रचण्डले केपी ओलीको राजिनामा मागी राख्ने र त्यही नै बटमलाई बनाइराख्नुहुन्थ्यो ।

यसरी पार्टी एकता गर्नुको औचित्य पनि त हुँदैन थियो । चुनावी तालमेल भएको थियो । एउटा मत आएको थियो । त्यहीबाट एउटा ढंगले अघि बढ्ने अवस्था आउन सक्थ्यो । वा पार्टी विभाजनको दिशामा गए जाओस् भनेर प्रचण्डजीले भन्न सक्नुहुन्थ्यो । त्यसैले अहिले पार्टीभित्र पदको लडाई भएको होइन । हामीले यसलाई बिचारको लडाईसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

संविधानमा नै अब समाजवादमा जाने भनेर उल्लेख गरिएको छ । तर, तपार्इँहरुको पार्टीभित्र पुराना बिचारहरुमै फर्कने भनेर बहस छलफलहरु भइरहेको देखिन्छ । के अब पूर्व घटकहरुले विगतमा अवलम्वन गरेका पुराना बिचारहरुमा फर्कन सम्भव छ ?

पुराना विचारका वहसहरु दुई ओटा कोणबाट आएका छन् । एउटा नयाँ कुरा के भनेर आएको छैन । महाधिवेशनको प्रकृया सुरु भए पछि नयाँ राजनीतिक दस्तावेजहरु आउलान् । त्यसमा वहस होला । अथवा फरक–फरक दस्तावेज आउला । अर्को कुरा पूरानो बिचारमा फर्कदा साथीहरुको समूह बनाउन सकिन्छ कि भन्ने पनि होला ।

पूर्व एमालेका साथीहरु जनताको बहुदलीय जनवादको कुरा गर्दा हाम्रो गुट बलियो भइराख्छ कि भनेर सोच्ने । पूर्व माओवादीका साथीहरुले २१ औं शताब्दीको जनवाद बन्दाखेरि हाम्रो गुट बलियो हुन्छ कि भनेर सोच्ने मनोविज्ञानले पनि काम गरेको हुन सक्छ । तर, परिस्थिति नयाँ ढंगले विकास भएको छ । हामीले संविधानमै समाजवाद लेखिसकेको अवस्थामा अबको कार्यक्रम समाजवादी बनाउनुपर्ने हुन्छ ।

जनवादी क्रान्तिको कार्यभार पूरा भइसक्यो भनेर पूर्व एमालेका साथीहरुले पनि भनिसकेको अवस्था हो । त्यसैगरी हेटौडा महाधिवेशनसम्मा आउँदा पूर्व माओवादीले जनवादी क्रान्तिकारी कार्यभारहरु लगभग पूरा भए भनेर भनेको कुरा हो । त्यसैले हामी समाजवादमा जाने हो । समाजवादमा जानका लागि हामीले नयाँ बिचार कोर्नुपर्ने हुन्छ । नयाँ सोचको विकास गर्नुपर्छ । नयाँ सोचको विकास सबैले गर्न सक्दैनन् । सबैलाई पुरानोमा रमाउन मन पर्छ । पूरानामा रमाउँदा पुराना साथीहरुसँग बस्न पाइने भएकाले साथीहरुले सजिलोका लागि पुराना कुरा गरेका हुन् । तर, अबको बाटो पुरानोमा फर्केर हुँदैन ।

मलाई विश्वास छ कि हाम्रो पार्टीका लिडरहरु प्रचण्ड र केपी शर्मा ओलीले एउटा इनोभेटिभ बिचार ल्याउनुहुनेछ । उहाँहरुले नेपाली समाजलाई सुहाउने बिचार ल्याउनुहुने । शब्दमा जे भने पनि हामीले समाजवादमा जाने गरी आगामी महाविधेशनमा बिचार संश्लेषण गर्नेछौं ।

तपार्इँहरु समाजवादमा जाने भन्नुहुन्छ । तर, नेकपाकै नेता कार्यकर्ताहरुमा पुँजीवादी चिन्तन र व्यवहार देखिन्छ । पुँजीवादी चिन्तन र व्यवहार बोकेका नेता तथा कार्यकर्ताहरुबाट समाजवादी क्रान्ति सम्भव छ त ?

पार्टीका कार्यकर्तामा समाजकै प्रतिबिम्ब हुन्छ । पार्टीमा पनि समाजबाटै आएका मान्छेहरु हुन्छन् । तुलनात्मक रुपमा बिचारले नेतृत्व गर्ने कुरा नै महत्वपूर्ण हो । पुँजीवादी सोच, शैली, संस्कार छ । त्यसलाई रुपान्तरण गर्नुपर्छ । आदर्शबाट बदलेर यो चिज बदलिदैन । म पुँजीवादी हुँदैन भनेर तपाईँ वा मैले कल्पना गरेर हुने विषय होइन ।

हामीले कार्यक्रमबाट परिवर्तन गर्नुपर्छ । आदर्शबाट म पुँजीवादी हुँदैन भनेर तपार्इँ के गर्नुहुन्छ । साराा समाज उपभोक्तावादमा गइरहेको छ । सबैलाई राम्रो खान, मिठो खान मन लागेको छ । सबैलाई उपभोक्तावादी संस्कृतिले गाँजिरहेको छ । एउटा व्यक्ति मात्रै एक्लै म पुँजीवादबाट मुक्त हुन्छु भन्यो भने त्यो शून्यवाद हुन्छ । एक हिसाबले त्यो सन्यास वा जोगी बनेको जस्तो हुन्छ । त्यसकारण हामीले कार्यक्रमबाट नै परिवर्तन गर्नुपर्छ । त्यसका लागि सरकारमार्फत् समाजवादी कार्यक्रम लागु गर्ने गर्नुपर्छ ।

तलबाट पनि जनतालाई त्यो ढंगले अघि बढाउनेतिर केन्द्रित गर्नुपर्छ । व्यक्तिहरु पुँजीवादी चिन्तनबाट ग्रसित छ भन्ने तपाईँको कुरा साँचो हो । व्यक्तिहरु आफूलाई रुपान्तरण गर्नुपर्छ । व्यक्तिले गरेको रुपान्तरणलाई पनि माथिबाट गरेको कार्यक्रमलाई धेरै सहयोग गर्छ ।

तपाईँ कम्युनिष्ट दर्शनको अध्यता पनि हुनुहुन्छ । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै संसारभर पुँजीवाद हावी भएको देखिन्छ । यस्तो अवस्थामा नेपालमा समाजवादी क्रान्ति पूरा गर्नका लागि कत्तिको जोखिम देख्नुहुन्छ । कुन आधारमा नेपालमा समाजवादी क्रान्ति हुन्छ ?

मुख्यतः समाजवादमा जानका लागि हामीले उत्पादन सम्बन्धलाई हेर्नुपर्ने हुन्छ । हाम्रो कुन उत्पादन सम्बन्ध छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले पनि हामी सामान्तवादी सोच र उत्पादनमा छौं ।

उत्पादन प्रणाली हिजोकै परम्परागत ढंगमा चलिरहेको छ । उत्पादन प्रणाली र उत्पादन सम्बन्ध परिवर्तन गर्नका निम्ति हाम्रो नेपालको सन्दर्भमा आधारभूत रुपमा यहाँको जमिनको उपयोग हो । हामीले प्रारम्भिक रुपमा खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ । खाद्यान्न आयात प्रतिस्थापन गर्नुपर्छ ।

हामीलाई घोषणा गरेर बनाउन छुट छैन । किनकि हामीले विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरेका छौं । हामीले कुखुरा पालेर मासु र अण्डामा आत्मनिर्भर हुन सक्छौं । त्यसैगरी दूध र खाद्यान्न सबै नेपालको प्रयोग गर्ने वातावरण तयार गर्नुपर्छ । हाम्रो उत्पादनको साधन र सम्बन्ध परिवर्तन गर्नुपर्छ । हामीले चक्लाबन्दी गरेर जग्गाको उचित व्यवस्थापन गर्नुपर्छ । हामीले पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।

कृषि उद्योगलगायतमा जोड दियौं भने जनताको जीवनस्तर माथि उठ्दै जान्छ । जनताको जीवनस्तर उठाउँदै समाजवादको बाटोमा जानुपर्छ । यहीँ अवस्थामा रहेर समाजवादमा जान सक्दैनौं । विदेशी ऋण ल्याएर, रेमिट्यान्स भित्र्याएर समृद्ध हासिल गर्न सक्दैनौं । हामीसँग भएको उत्पादन साधन जमिन हो । जमिनलाई उपभोग गर्ने योजना बनाउनुपर्छ ।

२०४६ सालको परिवर्तनपछि नेपालले खुला बजार अर्थतन्त्र र उदारीकरणको नीति ल्यायो । त्यही अनुसार डा. रामशरण महतको बजेट पनि आयो । कार्यक्रमगत रुपमा केही फरक आए पनि अहिलेसम्मका कम्युनिष्ट पार्टीले महतकै बजेटको नीति अनुसरण गरेको देखिन्छ त ?

नीतिगत रुपमा धेरै फरक नदेखिएको साँचो हो । हामीले बहुलवाद स्विकार गरेका छौं । हाम्रो बजेटले बहुदलवाद स्विकार गरेको छ । यसको अर्थ यो हो कि अन्तर्राष्ट्रिय रुपमा आएका सन्धी सम्झौता मान्ने भनेको हो । तर, हामीले जनमुखी कार्यक्रम ल्याएका छौं ।

हामीले जनजीविकाका सवालहरुलाई नयाँ ढंगले परिभाषित गरेका छौं । सामाजिक सुरक्षाका कार्यक्रमहरु, युवा स्वरोजगार जस्ता कार्यक्रमहरु, कृषकलाई कृषि पेन्सन, योगदानमा आधारित अनुदान, कृषिमा अनुदानलगायतका विषयमा बिस्तारै हामीले परिवर्तन गर्न खोजेका छौं । एकै पटक पुरै परिवर्तन हुने अवस्थामा हामी जान सकेका छैनौं । तर, बिस्तारै क्रमिक रुपमा परिवर्तन भइरहेको छ । त्यसका लागि आधार तयार भइरहेको छ ।

हामीले भूमिसुधार आयोग बनाएका छौं । आयोगमार्फत् भूमिका व्यवस्थापन हुन्छ । हामीले कृषिमुखी बजेट ल्याएका छौं । बैङ्कमार्फत् कृषिमा ६ प्रतिशत व्याजदरको व्यवस्था गरिएको छ । हामीले क्रमशः परिवर्तन गर्दैछौं ।

प्रसंग बदलौं, २०६२÷०६३ को आन्दोलनपछि पाँच÷छ वर्ष तपार्इँको पार्टीभित्र शहीद तथा बेपत्ता परिवारलाई राहत र घाइते अपांगहरुको व्यवस्थापनको कुरा उठ्ने गरेको थियो । अहिले त्यो कुरा उठ्न छाडेको छ । पार्टीभित्र उनीहरुको व्यवस्थापन भइसकेको हो ?

भएको छैन । कुरा उठ्न छोडेको पनि छैन । पार्टी एकतालगायतका विषयले अहिले आझेल भएको जस्तो मात्रै मानिएको हो । उहाँहरुको समस्या समाधान भएको छैन । उहाँहरुको समस्या समाधान गर्नुपर्ने अनिवार्य छ । संयुक्त राष्ट्र संघले प्रमाणित नगरेका जनमुक्ति सेनाका साथीहरुको समस्या उस्तै छन् ।

अहिले पनि नेपालमा शान्तिप्रक्रियाका कामहरु पुरा हुन बाँकी छन् । घाइतेहरुको उपचारको व्यवस्था केही भएको छ । तर, पूर्णरुपमा हुन सकेको छैन । शहीद परिवारलाई राहतका कार्यक्रम ल्याइएका छन् । उनीहरुका सन्तानको व्यवस्थापन गर्नुपर्नेछ । बेपत्ताहरुको छानबिन गर्नुपर्नेछ । अब यी सबै कुराहरुको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

loading…

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने

बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल अब  नयाँ व्यावस्थापनका साथ संचालन हुने भएको छ।  दाङ जिल्लावासी लगाएत साविक राप्ती अञ्चलका विभिन्न  बासिन्दाहरुलाई…

नारायणी किनारमा भोकाहरूलाई खान्की

चितवन — नारायणगढको नारायणी नदी किनारमा साँझ–बिहान राम्रै चहलपहल हुन्छ । तर अचेल यहाँ मध्याह्नको चर्को घाममा पनि मानिसहरू जम्मा हुन थालेका छन् । काखे नानीसहितका महिला,…

आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो :…

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर…

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…