चितवन — नारायणगढको नारायणी नदी किनारमा साँझ–बिहान राम्रै चहलपहल हुन्छ । तर अचेल यहाँ मध्याह्नको चर्को घाममा पनि मानिसहरू जम्मा हुन थालेका छन् । काखे नानीसहितका महिला, बालबालिका र वृद्धवृद्धा लाइन लागेर बसेका देखिन्छन् । उनीहरू भात खान पाइने आसले यसरी जम्मा भएका हुन् ।
लकडाउन र निषेधाज्ञाले कामविहीन भएका र मागेर पेट पाल्नेहरू यसरी भेला हुन थालेको तीन साता नाघ्यो । उनीहरूका लागि खानाको व्यवस्था कुनै सरकारी निकायबाट नभएर संघसंस्था र सहयोगी व्यक्तिहरूको पहलमा भएको हो । यसको नेतृत्व गरेको छ, सीता कुँवर संयोजक रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले ।
धरानबाट दुई वर्षअघि नारायणगढ आएका ४५ वर्षीय लालबहादुर परियार भारी बोकेर गुजारा चलाउँथे । दिनमा तीन–चार सय कमाउँथे । तर लकडाउनपछि उनलाई खानकै पिरलो थपियो । अहिले दिनहुँ यहीँ आएर खाना खान्छन् ।
‘यसरी खाना खाने कार्यक्रम सुरु भएपछि हामीलाई ठुलो राहत भयो । मैले यहाँ सुरुदेखि नै खाना खाँदै आएको छु,’ उनले भने ।
उक्त केन्द्रले मुख्य गरी बेवारिस शवहरूको व्यवस्थापन तथा सडकमा अलपत्र परेका A4रूको उद्धार गर्दै आएको छ । ‘तर लकडाउन र निषेधाज्ञाका बेला श्रमिक र सडकमा बस्नेहरूले खानै नपाएर दुर्दशा भएको देख्यौं अनि भदौ ५ देखि पुलचोकमा खाना पकाएर भोकाएकाहरूलाई दिन सुरु गर्यौं,’ कुँवरले भनिन् ।
उनका अनुसार खाना खानेहरू दिनहुँ तीन सय जनाभन्दा धेरै हुन्छन् । भिडभाड बढ्न थालेकाले पुलचोकमा चार दिन खुवाएर पछि नारायणीको फराकिलो किनारमा सारिएको हो ।
केन्द्रले पहिले एक छाक खुवाउँदै आएकोमा बिहीबारदेखि दुई छाक नै खुवाउन थालेको छ । ‘दुई छाक खुवाउँदा दिनमा १५८ केजी चामल मात्रै लाग्छ । खर्च जे–जति हुन्छ, विदेश गएका नेपाली र स्वदेश तथा भरतपुरकै मनकारी व्यक्ति र संघ संस्थाबाट जुट्दै आएको छ,’ कुँवरले भनिन् ।
लियो क्लब भरतपुर युथका सदस्यहरू खाना बनाउनेलगायत काममा सघाउन १४ दिनदेखि खटिरहेका छन् । ‘लियोका सदस्यहरू अन्य काममा पनि खटेका छन् । लियो र लायन्स क्लबबाट आर्थिक सहयोग पनि जुटाएर यो कामलाई सहयोग गर्दै आएका छौं,’ लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका सचिव सुरज पौडेलले भने ।
स्थानीय सरकारसँग भने राहत वा खाद्यान्न सहयोगको कुनै कार्यक्रम देखिँदैन । भरतपुर महानगरपालिकाका प्रवक्ता रहेका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी चैतबाट सुरु भएको लकडाउनका बेला वडाहरूले तीन पटकसम्म राहत बाँडेको तर पछिल्लो समय त्यस्तो सहयोग नगरिएको बताउँछन् । ‘अहिले हामी आइसोलेसन व्यवस्थापनमा बढी केन्द्रित छौं । क्वारेन्टाइन पनि चलाउनुपर्छ । अरू गर्न सकेका छैनौं,’ उनले भने ।